Tuesday, September 21, 2010

3rd Aniversary Special -MohanBikram Singh

सामुदायिक रेडियो प्यूठानको तेश्रो बार्षिक उत्सवको अवसरमा आयोजित काठमाण्डौं-बुटवल अभियान अन्तर्गत काठमाण्डौंमा असोज १ गते आयोजित प्यूठान जिल्लाको पर्यटन र समग्र विकास विषयक अन्तरकि्रया कार्यक्रममा प्रस्तुत कार्यपत्र



प्यूठान विकासको अवधारणापत्र
- मोहनविक्रम िसंह

कार्यक्रमका अध्यक्ष
आदरणीय अतिथि र सहभागी मित्रहरु

सर्वप्रथम मैले अन्तरसंवाद कार्यक्रम सामुदायिक रेडियो प्यूठानका तर्फबाट आयोजित यो अन्तरकि्रया कार्यक्रममा उपस्थित सबै अतिथि र सहभागी मित्रहरुलाई अभिनन्दन गर्न चाहन्छु । रेडियो प्यूठानले पहिले सधैंभन्दा बेग्लै अहिले खास गरेर प्यूठान जिल्ला र पर्यटनको विकासमा समेत जोड दिएर आफ्नो वार्षिक उत्सवको कार्यक्रम सम्पन्न गर्ने जुन आयोजना गरेको छ त्यो अत्यन्त प्रशंसनीय कार्य हो । त्यस प्रकारको मौलिक सुझबुझ र कार्यक्रमका लागि हामीले यो अन्तरकि्रया कार्यक्रमका आयोजकहरुलाई धन्यवाद दिन चाहन्छौं । त्यसका साथै यसप्रकारको कार्यक्रमले प्यूठान जिल्लाको विकास र पर्यटनमा मद्दत पुग्नुका साथै त्यो कार्यक्रमद्वारा उक्त प्रश्नहरुप्रति देशव्यापी रुपमा जनमत तथा समर्थन र सहयोगको वातावरण तयार पार्न दिनेछ र त्यसरी जिल्ला र जिल्लाको पर्यटनको विकासमा समेत योगदान दिनेछ भन्ने आशा र कामना पनि गर्दछौं ।

प्यूठान पश्चिम पहाडको पिछडिएका जिल्लाहरुमध्ये एउटा हो । यसको भू-उपयोगको कूल क्षेत्रफल १३२८९० हेक्टर र जनसंख्या २०५८ को जनगणनाअनुसार २१२४८४ छ । यसको सिमानामा बाग्लुङ गुल्मी अर्घाखाँची दाङ सल्यान र रोल्पा जिल्लाहरु जोडिएका छन् । यो जिल्ला प्राकृतिक र भौगोलिक दृष्टिले अत्यन्त समृद्धशाली र सुन्दर छ । जिल्लामा विकासका व्यापक सम्भावनाहरु छन् । झिमरुक र माडी जस्ता नदी धर्मावती र माडीका विशाल फाँट फैलिएको बन जंगल अग्ला पर्वत शिखर थुप्रै प्रजातीका बहुमूल्य जडिबुटी सुन्दर प्राकृतिक दृश्यहरु आदि वास्तवमा प्यूठानको ठूलो सम्पत्ति हो र तिनीहरुका आधारमा देशको एउटा विकसित जिल्लाका रुपमा प्यूठानको विकासका लागि प्रसस्त सम्भावना भएको कुरा स्पष्ट छ । तर तिनीहरुको ठीकसित उपयोग र विकास हुन नसक्दा हाम्रो जिल्ला त्यति धेरै सम्पन्न भएर पनि विकास कार्यहरु पछाडि परेका छन् र जनताले अत्यन्त गरिबीको जीवन बिताउन परेको छ । त्यो अवस्थाबाट सुधार र आमूल परिवर्तनका लागि सचेत संगठित र योजनावद्ध प्रयत्न गरिनु पर्ने आवश्यकता छ ।

२००७ सालको राजनीतिक परिवर्तनपछिका गत दशकहरुमा जिल्लामा धेरै नै विकास कार्यहरु भएका छन् । तैपनि ती अत्यन्त कम छन् र स्वयं जिल्लाका विभिन्न क्षेत्रहरुमा विकासका जुन सम्भावनाहरु छन् तिनीहरुका दृष्टिले पनि अहिलेसम्म भएका विकास कार्यहरु धेरै नै कम छन् र त्यसका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि ठूलो मात्रामा आर्थिक र प्राविधिक साधनहरुको आवश्यकता पर्दछ । तर जिल्लामा आवश्यकताको दृष्टिले अत्यन्त कम लगानी भएको छ । त्यस कारणले पनि जिल्लाको विकास पछाडि परेको छ । त्यो कमीलाई दुई प्रकारले पूरा गर्नु सम्भव छ र ती दुवै दिशामा प्रयत्न गरिनु पर्दछ । प्रथम जिल्लाको विकासका लागि सरकार वा विभिन्न सरकारी वा गैर-सरकारी संघ-संस्थाहरुबाट बढीभन्दा बढी सहायता उपलब्ध गराउने प्रयत्न गर्ने । द्वितीय जनस्तरमा पनि त्यसका लागि पहल गर्ने । जिल्लामा उक्त दुवै दिशामा केही न केही काम अवस्य पनि भएको छ । तर त्यो कार्यलाई अरु व्यापक र उच्च स्तरमा बढाउनु पर्ने आवश्यकता छ ।

देशका कुनै पनि पिछडिएका जिल्लाको विकासले सम्पूर्ण देशको विकासलाई मद्दत पुर् याउँछ । जब त्यसरी जिल्लाहरुको विकास हुँदै जान्छ सम्पूर्ण देशको विकास हुन्छ । वास्तवमा समस्या खालि प्यूठानको मात्र होइन सम्पूर्ण देशको अवस्था पिछडिएको छ । त्यसकारण देशलाई समुन्नत बनाउनका लागि अन्य धेरै प्रयत्न गर्नुपर्ने आवश्यकता छ । जिल्लाहरुको विकासले त्यस प्रकारको राष्ट्रिय विकासका लागि जगको काम गर्न सक्दछ । त्यति मात्र होइन हाम्रो देश मुख्य रुपमा गाउँहरुमा बसेको छ । अर्को शब्दमा हाम्रो देश मुख्य रुपमा गाउँहरुको देश हो । त्यसकारण गाउँहरुमा हुने विकासले सम्पूर्ण देशको विकासमा मद्दत पुग्न सक्दछ । त्यसरी कुनै जिल्ला वा कुनै गाउँको विकासका लागि गरिने प्रयत्नहरु राष्ट्रिय विकासका अंगहरु हुन्छन् र तिनीहरुका बीचमा घनिष्ट अन्तरसम्बन्ध छ । त्यसकारण प्यूठान जिल्ला वा जिल्लाको कुनै गाउँको विकासका लागि गरिने प्रयत्नहरुलाई त्यही राष्ट्रिय सन्दर्भमा बुझ्न र सफल पार्ने प्रयत्न पनि गर्नुपर्दछ ।

हाम्रो देशको विकाससित सम्बन्धित एउटा गम्भीर प्रश्न यो हो कि विकासका कार्यहरु राजधानी केही ठूला शहरहरु वा केही खास क्षेत्रहरुमा केन्द्रित हुने गरेका छन् । त्यसले गर्दा देशमा सन्तुलित प्रकारले विकासको कार्य हुन सकेको छैन । देशका धेरै भागहरुमा विकासको कार्य उपेक्षित हुने गरेको छ जसमा प्यूठान जिल्ला पनि पर्दछ । त्यो अवस्थामा देशमा विकासका लागि समानुपातिक प्रकारको विकासको पद्धति अपनाउनु पर्दछ । त्यसको अर्थ हो विकासका सबै योजना र साधनहरु देशका सबै भागहरुमा समानुपातिक रुपले विकेन्द्रित गरिनु पर्दछ । कुरा त्यति मात्र होइन । जुन क्षेत्रहरु विकासको दृष्टिले पछाडि परेका छन् क्षतिपूर्तिको रुपमा तिनीहरुको विकास कार्यमा विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता छ । त्यसरी नै सम्पूर्ण देशको सही र सन्तुलित विकास हुन सक्नेछ । त्यसका लागि सरकारका केन्द्रीय योजना वा विकाससम्बन्धी नीतिहरुमा नै आमूल परिवर्तनको आवश्यकता छ ।

कुनै जिल्लाको विकास र प्रशासनको भूमिकामा घनिष्ट अन्तरसम्बन्ध हुन्छ । प्रशासनको स्वरुपले जति जति जनमुखी रुप ग्रहण गर्दै जान्छ त्यति त्यति नै विकासका कार्यहरु सफलतापूर्वक अगाडि बढ्ने गर्दछन् । प्रशासनको गलत प्रकारको कार्यप्रणालीका कारणले विकास कार्यहरु काफी हदसम्म अवरुद्ध वा कुण्ठित हुने गर्दछन् । प्रशासनको कार्यप्रणाली कुन प्रकारको हुन्छ त्यो कुरा सर्वप्रथमता देशको सामाजिक र सांस्कृतिक अवस्था वा स्वयं प्रशासनको विकासको स्तरले निर्धारित गर्ने कुरा हो । त्यो बाहेक सरकार तथा राजनीतिक संगठनहरु र मुख्यतः सत्तारुढ दलहरुको नीति वा भूमिकाले पनि सम्पूर्ण देश विभिन्न जिल्ला वा गाउँहरुको विकासका कार्यक्रमहरुलाई काफी हदसम्म प्रभावित गर्ने गर्दछन् । त्यसकारण सम्पूर्ण देश वा प्यूठान जिल्लाको विकाससम्बन्धी कार्यहरुबारे विचार गर्दा सरकार र विभिन्न राजनीतिक संगठनहरुका नीति तथा भूमिकाका बारे पनि विचार गर्नुपर्दछ र यो प्रयत्न गर्नुपर्दछ कि उनीहरुहरुका नीति र भूमिकाका कारणले जिल्लाको विकासमा बाधा नपुगोस् । यस सन्दर्भमा अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । देश वा कुनै जिल्लाको विकासका लागि सरकारको ध्यान आकर्षित गर्नका लागि कैयौंपल्ट व्यापक जनमत तयार पार्नुपर्ने वा आन्दोलन संगठित गर्नुपर्ने आवश्यकता हुन्छ । प्यूठान जिल्लाको सन्दर्भमा पनि त्यस प्रकारको राजनीतिक भूमिकाको आवश्यकतालाई अस्वीकार गर्न सकिन्न । त्यस सन्दर्भमा एउटा अर्को महत्वपूर्ण कार्यप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । जिल्लाको विकासका लागि विभिन्न सामाजिक संघ-संस्था राजनीतिक संगठन वा आम जनताले समेत आपसका विभिन्न सैद्धान्तिक राजनीतिक संस्थागत वा दलीय मतभिन्नताहरुका बाबजुद आपसमा एकता वा परस्परमा सहयोग गर्ने नीति अपनाउनु पर्दछ । त्यसरी नै प्यूठानजस्तो एउटा पिछडिएको जिल्लालाई उन्नत अवस्थामा विकसित गर्नु सम्भव हुनेछ र त्यसका लागि प्यूठानसित सम्बन्धित सम्पूर्ण जनता संघ-संस्था वा राजनीतिक संगठनको ध्यान जानुपर्ने आवश्यकता छ ।

प्यूठानबाट आएर राजधानीमा वसोवास गर्ने मानिसहरुको संख्या ठूलो छ । विभिन्न पेशा कारोवार अध्ययन आदिका सिलसिलामा उनीहरु राजधानीमा आएर अस्थायी वा स्थायी प्रकारले वसोवास गर्ने गर्दछन् । उनीहरुले काठमाडौंमा बसेको बेलामा आफ्ना विभिन्न कामहरुका साथै जिल्लाको विकाससित सम्बन्धित प्रश्नहरुमा पनि केही ध्यान दिएमा जिल्लाको विकासमा धेरै नै मद्दत पुग्न सक्दछ । त्यस सिलसिलामा बन्दिपुरबाट आएर काठमाडौं बसोवास गरेर मानिसहरुले बन्दिपुरको विकास वा त्यसलाई पर्यटन क्षेत्रको रुपमा विकासका लागि गरेका प्रयत्नहरु विशेष रुपले उल्लेखनीय छन् र त्यसबाट हामीले पनि शिक्षा लिनुपर्ने आवश्यकता छ । त्यस दिशामा गतकालमा प्यूठानसित सम्बन्धित विभिन्न संस्था वा व्यक्तिहरुद्वारा प्रयत्नहरु हुँदै आएका छन् । त्यो प्रयत्नलाई अरु अगाडि बढाउनुपर्ने आवश्यकता छ । त्यस प्रकारको पृष्ठभूमिमा प्यूठान रेडियोले जिल्लाको विकाससित सम्बन्धित समस्याहरुबारे छलफलको जुन आयोजना गरिएको छ यसले विशेष महत्व राख्दछ । यो भेलामा जिल्लाको विकासबारे हुने छलफलबाट राजधानीमा बस्ने प्यूठानीहरुको जिल्लाको विकासतर्फ ध्यान आकर्षित गर्न जिल्लाका विकास कार्यक्रमहरुसित उनीहरुको भूमिकाको सामन्जस्यता कायम गर्न जिल्ला वा विभिन्न गाउँहरुका विकास कार्यक्रमहरुमा पहलकदमी गर्न उनीहरुलाई प्रेरित गर्ने र त्यसरी समष्टि रुपमा प्यूठानको विकासमा महत्वपूर्ण योगदान पुग्नेछ भन्ने हामीले आशा र विश्वास गर्नुपर्दछ ।

जिल्लाको विकाससम्बन्धी समस्याबारे विचार गर्दा मुख्य रुपले यी विषयहरुमा ध्यान दिनुपर्ने आवश्यकता छ ः १ शिक्षा २ स्वास्थ्य ३ यातायात ४ कृषि ५ उद्योग ६ पर्यटन ७ वृक्षारोपण र जंगलको रक्षा ८ सामाजिक विकास ९ लोकसंस्कृतिको प्रवर्धन र विकास १० ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरुको उत्खनन संरक्षण आदि । उक्त विषयहरुमध्ये शिक्षा र यातायातबारे जिल्लामा केही न केही विकाससम्बन्धी कार्यहरु हुने गरेका छन् । तर तिनीहरुलाई अरु उच्चस्तरमा विकसित गर्नुपर्ने आवश्यकता छ । कृषिको पनि परम्परागत प्रणालीलाई बदलेर आधुनिक उन्नत वैज्ञानिक र व्यवसायीक रुप दिनका लागि विशेष प्रयत्न गर्नुपर्ने आवश्यकता छ । प्यूठानमा उद्योगको विकासका लागि भएका विशेष सम्भावनाहरुप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । प्यूठान लोडसेडिङ्मुक्त जिल्ला घोषित भएको छ यद्यपि व्यवहारमा त्यहाँ पनि केही न केही लोडसेडिङका लक्षणहरु देखापर्ने गरेका छन् । तैपनि प्यूठान मुख्य रुपले लोडसेडिङ मुक्त जिल्ला भएकाले अन्य जिल्लाहरुमा भन्दा बेग्लै त्यहाँ आधुनिक प्रकारका उद्योगहरुको विकासका लागि बिजुलीको समस्या अन्त्रय जस्तो गम्भीर छैन । त्यसका साथै प्यूठानको नजिकै भालुवाङमा राजमार्ग भएकाले प्यूठानका औद्योगिक उत्पादनहरुको निर्यातका लागि पनि धेरै कठिनाई छैन । त्यो स्थितिबाट फाइदा उठाउँदै जिल्लामा उद्योगहरुको विकासको लागि विशेष पहलकदमी गर्नुपर्ने आवश्यकता छ । जिल्लामा यातायातको विकासका लागि पनि धेरै सम्भावनाहरु छन् । त्यो दिशामा केही काम भएको छ तर त्यसको विकासका लागि अरु प्रयत्न गर्नुपर्ने आवश्यकता छ । वृक्षारोपण र जंगलको रक्षा सामाजिक विकास लोकसंस्कृतिको प्रर्धन र विकास तथा १० ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरुको उत्खनन संरक्षण आदि क्षेत्रहरुमा पनि योजनावद्ध प्रकारले प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

प्यूठानको विकासबारे विचार गर्दा पर्यटनको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । आधुनिक युगमा जुनसुकै देशमा पनि पर्यटनले धेरै नै महत्व राख्दछ । हाम्रो देशमा पनि पर्यटनले एउटा उद्योगको रुप िलंदै गइरहेको छ । पर्यटनको विकासबाट विभिन्न आर्थिक क्षेत्रहरुको विकासमा मद्दत पुग्दछ । त्यसको अर्को पक्ष यो हो कि पर्यटनलाई अगाडि बढाउनका लागि वा त्यसका लागि पूर्वाधार तयार पार्नका लागि कैयौं क्षेत्रहरुमा विशेषगरी आर्थिक क्षेत्रहरुमा विकास गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसरी पर्यटन र आर्थिक विकास दुवैले एक अर्कालाई मद्दत पुराउँछन् । आजको विश्वमा ग्रामीण पर्यटन विशेष रुपले लोकपि्रय हुँदै गएको छ । विकसित देशका मानिसहरुमा पनि जनजीवन जस्तो छ त्यही रुपमा हेर्ने र त्यसको अध्ययन गर्ने रुची बढ्दै गइरहेको छ । त्यही प्रकारको पृष्ठभूमिमा केही दशकयता नेपालमा ग्रामीण पर्यटन प्रति मानिसहरुको ध्यान जान थालेको छ र गाउँहरुलाई आधार बनाएर कैयौं जिल्लाहरुमा पर्यटनलाई अगाडि बढाउने प्रयत्नहरु सुरु भएका छन् । त्यस सिलसिलामा घान्दु्रक कास्कीको नाम विशेष रुपले उल्लेखनीय छ । वास्तवमा आज घान्द्रुक अन्तर्राष्ट्रिय पर्यटकहरुको एउटा केन्द्र नै बनेको छ । त्यसका साथै सिरुवारी स्याङ्जा घलेगाउँ लमजुड्ड बन्दीपुर तनहुँ वल्थली काभ्रे आदिका ग्रामीण पर्यटन क्षेत्रहरु विशेष रुपले उल्लेखनीय छन् । प्यूठानमा पनि त्यस प्रका प्यूठानमा पनि त्यस प्रकारका पर्यटन क्षेत्रहरुको विकासका लागि प्रसस्त सम्भावनाहरु छन् र तिनीहरुको विकासप्रति हाम्रो ध्यान जानुपर्दछ ।

प्यूठान जिल्लाका कैयौं स्थानहरुलाई पर्यटकीय क्षेत्रहरु बनाउने दिशामा सरकारी वा गैर-सरकारीस्तरमा छलफल र प्रयत्नहरु प्रारम्भ भएका छन् । त्यस सिलसिलामा स्वर्गद्वारी आश्रम ऐरावती गौमुखी मल्लरानी नौबहिनी लेख आदि स्थानहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रयत्नहरु हुन थालेका छन् जुन स्वागतयोग्य कुरा हो । यिनीहरुमध्ये स्वर्गद्वारी नेपालको नै प्रसिद्ध धार्मिक स्थान हो र ठूलो संख्यामा पर्यटकहरु त्यहाँ आउने गर्दछन् । अहिले भिङ्गृबाट स्वर्गद्वारी जाने बाटो बनेपछि त्यसको महत्व झन् बढेर गएको छ । ऐरावती झिमरुक र माडी माण्डवी नदीको दोभान हो । त्यो स्थान प्राकृतिक दृष्टिकोणले अत्यन्त सुन्दर हुनुका साथै धार्मिक दृष्टिकोणले पनि त्यसको महत्व छ । गौमुखी झिमरुक नदीको मुहान हो । मल्लरानी प्यूठानको सदरमुकामको माथि पर्वत शिखरमा रहेको प्राकृतिक दृष्टिले अत्यन्त सुन्दर स्थान हो । यहाँबाट देखिने झिमरुक नदीका छेउको विशाल फाँट र चारैतिरको पर्वत श्रृंखलाको सुन्दर दृश्यले गर्दा पर्यटकीय दृष्टिकोणले त्यो स्थानको धेरै नै महत्व छ र त्यसको विकासका धेरै नै सम्भावनाहरु छन् । भित्रिकोट बाइसे-चौविसे राज्यहरुमध्ये प्यूठान राज्यको राजधानी रहेको ऐतिहासिक स्थान हो । नौबहिनी लेख स्याउलीबाङको प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान हो । त्यसै गरेर लिस्ने लेकले प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान राख्दछ ।

यो लेकमा ओखरकोटको पर्यटकीय स्थानको रुपमा विकासको सम्भावनाबारे पनि केही चर्चा गर्नुपर्ने आवश्यकता छ । त्यो गाउँमा बाइसे-चौवीसे राजाहरुभन्दा पहिलेका भूरे टाकुरे जाट राजाको बेलाका दरबार वा सभाकक्षका भग्नावशेषहरु अहिले पनि छन् । त्यहाँ खड्ग देवताको मन्दिर छ । प्राकृतिक दृष्टिले पनि त्यो सुन्दर छ र त्यहाँबाट चारैतिरका अग्ला शिखर र नदीहरु समेतका सुन्दर दृश्यहरु देखिन्छन् । यी कारणहरुले गर्दाखेरी ऐतिहासिक पुरातात्विक र प्राकृतिक सौन्दर्यका दृष्टिकोणले पनि ओखरकोटलाई पर्यटक स्थलको रुपमा विकास गर्नका लागि व्यापक सम्भावना भएको कुरा प्रष्ट छ । ती सबै कुराहरु बाहेक ओखरकोटको मच्छीबाट मोटरबाटो राजमार्गसम्म जोडिएकॊ त्यहाँबाट अर्घाखाँची र गुल्मीलाई जोड्ने मोटरबाटो बनिसकेका तथा बाग्लुड्ड र ढोरपाटन जाने बाटोसमेतको योजना भएकाले यातायातका दृष्टिकोणले पनि ओखरकोटको महत्व बढेर गएको छ । उक्त सबै कुराहरुभन्दा बेग्लै ओखरकोटमा पर्यटनको विकासको अर्को महत्वपूर्ण पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । खालि ऐतिहासिक पुरातात्विक वा प्राकृतिक दृष्टिकोणले मात्र होइन ग्रामीण पर्यटनको विकासको दृष्टिकोणले पनि ओखरकोटको विशेष महत्व छ र त्यो दृष्टिकोणले त्यो गाउँमा ग्रामीण पर्यटन विकासका लागि प्रयत्न प्रारम्भ भएको छ । ओखरकोटको पर्यटनको मुख्य केन्द्र ओखरकोटको कोट नै हुनेछ जो ऐतिहासिक पुरातात्विक र प्राकृतिक दृष्टिले समेत महत्वपूर्ण स्थान हो । तर ग्रामीण पर्यटनको विकासका दृष्टिकोणले त्यो गाउँ वा त्यहाँ वसोवास गर्ने जनताको जनजीवन वा सांस्कृतिक पक्ष नै त्यो गाउँको पर्यटनसम्बन्धी कार्यक्रमको मुख्य पक्ष हुनेछ । ओखरकोट गाउँको पर्यटनलाई प्यूठान जिल्लाका ७ नं। र ८ नं। इलाकाहरुमा पर्ने वाङ्गेमरोट बाँदीकोट नारीकोट अर्खा पूँजा राजवारा लिवाङ र तुषारालाई ओखरकोटबाट पर्यटकीय पैदल मार्गसित जोडेमा त्यो पूरै क्षेत्रमा ग्रामीण पर्यटनको विकासका लागि धेरै मद्दत पुग्नेछ । उक्त कार्यहरु पूरा गर्नका लागि ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्यूठानको गठन भएर त्यसले त्यो दिशामा पहलकदमी पनि सुरु गरेको छ । ओखरकोट गा।वि।स। प्यूठान जि।वि।स। र काठमाडौं जि।वि।स। समेतको सिफारिस लिएर काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा त्यो संस्था दर्ता समेत भइसकेको छ । त्यसका तर्फबाट बन्न थालेको वेभसाइट ः यपजबचपयततयगचष्क्र।यचन।लउ तथा त्यो समितिका तर्फबाट छिटै प्रकाशित हुने ओखरकोट पत्रिकाद्वारा त्यो गाउँमा ग्रामीण पर्यटन विकासको प्रयत्नमा महत्वपूर्ण योगदान पुग्नेछ भन्ने हामीले आशा गरेका छौं । निश्चय नै उक्त सबै कार्यहरु एकदम प्रारम्भिक अवस्थामा नै छन् । ओखरकोटमा ग्रामीण पर्यटनका दृष्टिले पर्यटनको विकासका लागि जुन प्रयत्न गरिदैंछ त्यस प्रकारका सम्भावनाहरु प्यूठानका अन्य गाउँमा पनि धेरै नै छन् । ती सबै सम्भावनाहरुलाई उपयोग गर्दै जिल्लाव्यापी रुपमा जिल्लामा पर्यटन र समग्र विकासमा महत्वपूर्ण योगदान पुग्नेछ भन्ने हामीले आशा गर्नुपर्दछ र त्यो दिशामा सचेत तथा संगठित प्रयत्न पनि गरिनु पर्दछ ।

प्यूठानका विभिन्न इलाकाहरुमा त्यसरी पर्यटनको विकास गर्दै लगेर तिनीहरुलाईद्दड ूप्याकेजू पर्यटन कार्यक्रमका रुपमा सामेल गर्न सकिन्छ । त्यसरी दाङबाट प्यूठानमा प्रवेश गरेर स्वर्गद्वारी ऐरावती भित्रीकोट मल्लरानी ओखरकोट गौमुखीका बीचमा मोटर सडकको सुविधा भएकाले ती सबैका बीचमा एउटै प्याकेज कार्यक्रम अन्तर्गत पर्यटनलाई व्यवस्थित पार्ने सम्भावना छ । केही पूर्वाधार तयार पार्ने वित्तिकै त्यो कार्य सजिलैसित सम्पन्न गर्न सकिन्छ । नौबहिनी र लिस्नेमा तत्काल त्यस प्रकारको यातायातको सुविधा नभएकाले पैदल पर्यटकीय यात्रामा जाने पर्यटकहरुका लागि त्यहाँ पर्यटकीय पैदल मार्गको निर्माण गरेर ती स्थानहरुमा पनि पर्यटनको विकासका लागि आधार तयार पार्न सकिन्छ र ती स्थानहरुलाई पनि मोटरबाटोसित जोड्ने प्रयत्न गरेर ती स्थानहरुलाई समेत जिल्लास्तरीय पर्यटकीय प्याकेज कार्यक्रमका रुपमा साचालन गर्नु सम्भव हुनेछ । कुनै खास क्षेत्रको जनजीवन वा ऐतिहासिक सांस्कृतिक अध्ययन गर्न चाहेमा त्यसका लागि बेग्लै कार्यक्रम बनाउन सक्दछन् । पर्यटनको विकासका लागि कतिपय पूर्वाधारहरुको निर्माणको आवश्यकता पर्दछ जसमा सर्वप्रथम खाने-बस्ने व्यवस्था आउँछ । त्यसका लागि होम स्टे सामुदायिक भवन वा होटल-लजको आवश्यकता पर्दछ । त्यो बाहेक बिजुली पानी शौचालय टेलिफोन सूचनाका माध्यमहरु आदिको पनि आवश्यकता पर्दछ । पर्यटनको विकासका सन्दर्भमा मानिसहरुको व्यवहारिक तौर तरिकाहरुमा पनि समयानुकूल सुधार हुँदै जानुपर्ने आवश्यकता छ । खास गरेर उनीहरुमा आधुनिक प्रकारको आतिथ्य सत्कारको सांस्कृतिक चेतनाको विकास हुनुपर्ने आवश्यकता छ । पर्यटनका सिलसिलामा विदेशी पर्यटकहरुको आगमनका लागि पत्रपत्रिका वेभसाइट आदिद्वारा पर्यटन गर्नुका साथै आन्तरिक पर्यटनको विकासका लागि पनि प्रयत्न गरिनु पर्दछ ।

पर्यटन विकासको कुनै बेग्लै विषय होइन । यो अन्य सबै प्रकारका विकास कार्यक्रमहरुका साथसाथै विकसित हुँदै जाने कुरा हो । पर्यटनको विकासले पुनः पूरै विकास कार्यमा मद्दत पु-याउछ । त्यसरी पर्यटन र अन्य सबै विकास कार्यक्रमहरुलाई सन्तुलित रुपले अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ । यस सन्दर्भमा अन्तमा एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । विद्यमान आर्थिक सामाजिक वा राजनीतिक व्यवस्थामा देशमा वा कुनै जिल्ला र गाउँमा पनि पर्यटन वा अन्य कुनै विकास भएमा त्यसबाट मुख्य रुपमा केही उच्च र सम्पन्न मुट्ठिभर व्यक्तिहरुलाई नै फाइदा पुग्ने गर्दछ । तर हाम्रो प्रयत्न यो हुनुपर्दछ कि त्यस प्रकारका विकास कार्यक्रमहरु जनताको ठूलो भागलाई मद्दत पुग्ने दिशातिर साचालित र विकसित होउन् । तर त्यसका लागि विद्यमान आर्थिक सामाजिक वा राजनीतिक व्यवस्थामा नै सुधार वा आमूल परिवर्तनको आवश्यकता पर्दछ र त्यो लामो तथा संगठित आन्दोलनद्वारा नै सम्भव हुने कुरा हो । त्यसकारण हामीले कुनै जिल्ला वा गाउँको विकासका लागि प्रयत्न गर्ने बेलामा त्यसबाट बहुसंख्यक शोषित पीडित जनतालाई पनि फाइदा पुगोस् भन्नका लागि साथसाथै प्रयत्न गर्दै जानुपर्दछ । त्यसरी ती दुवै पक्षमा ध्यान दिएर नै हामीले विकास कार्यक्रमहरुलाई सही प्रकारले अगाडि बढाउन सक्दछौं र बढाउनु पनि पर्दछ । त्यस सिलसिलामा जिल्लाको विकास र पर्यटनको विकासका कार्यक्रमहरुलाई जुन हदसम्म सामाजिकरुपले साचालन गर्नु प्रयत्न गिरंदै छ त्यो हदसम्म त्यस प्रकारका विकास कार्यक्रमहरुबाट बढी भन्दा बढी जनतालाई फाइदा पुग्ने र उनीहरुको जीवनस्तर माथि उठ्ने सम्भावना हुनेछ र त्यो पक्ष प्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।